पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालय गणतन्त्र कोरिया बीच शैक्षिक समझदारी
पाेखरा | साउन २८, २०८२
पोखरा: पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालय गणतन्त्र कोरिया बिच प्राविधिक शिक्षाको अध्ययनका लागि छात्रवृत्ति आदानप्रदान सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
पारस्परिक लाभ, समानता, पारदर्शिता र साझा विकासको सिद्धान्तमा आधारित समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र युङजिन विश्वविद्यालयको तर्फबाट प्रोफेसर चोइ जेइयोङले हस्ताक्षर गर्नुभएको छ ।
समझदारी अनुसार शैक्षिक विकासका सन्दर्भमा पोखरा महानगरपालिका क्षेत्रको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्दै प्राज्ञिक, सांस्कृतिक र प्राविधिक सहयोगमार्फत दुई देशबिच अन्तर्राष्ट्रिय सम्बन्ध र पारस्परिक विकासमा जोड दिइनेछ ।
शिक्षा, पर्यटन र प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगलाई समर्थन गर्न मानव संसाधन तथा सूचना आदानप्रदान, महानगरपालिका र युङजिन बिच अनुकूल शैक्षिक कार्यक्रमहरू, भ्रमण र भर्चुअल शिक्षामा साझेदारी गरिनेछ । सहरी विकास, पर्यटन र दिगो अभ्यास लगायत पारस्परिक हितका क्षेत्रमा संयुक्त अनुसन्धान र नवप्रवर्तन परियोजनाहरूमा सहकार्य गरिनेछ ।
नगर प्रमुख आचार्यले दुई पक्षीय समझदारीले पोखराबाट वैदेशिक अध्ययनका लागि कोरिया जाने विद्यार्थीहरूलाई उनीहरूको अध्ययन, सामाजिक सुरक्षा र न्यूनतम रोजगारीमा विश्वविद्यालयले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । प्राविधिक शिक्षाको सन्दर्भमा विश्वविद्यालयसँगको समझदारीले विद्यार्थीहरूको अन्तर्राष्ट्रिय छात्रवृत्तिमा पहुँच स्थापित गर्ने भएकाले यसका लागि पोखरा महानगरपालिकाले आवश्यक सहजीकरण गर्ने उहाँले बताउनुभयो ।
उच्चशिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थी तथा अध्ययताहरुलाई समेत यसले महत्त्वपूर्ण सहयोग पुग्ने उहाँले बताउनुभयो ।
पोखरा महानगरपालिकासँगको सहकार्यमा आफूहरू यहाँको शैक्षिक विकासका लागि हातेमालो गर्न तत्पर रहेको विश्वविद्यालयका प्रोफेसर चोइ जेइयोङले बताउनुभयो ।
विशेष गरी प्राविधिक शिक्षा, मानव संसाधन र पारस्परिक लाभका विषयहरूमा पोखरा महानगरसँग आफूहरू नजिकबाट काम गर्न चाहिरहेको उहाँले बताउनुभयो ।
यसअघि पनि कोरियन सरकार र एजेन्सीजहरुको सहयोगमा पोखरामा थुप्रै परियोजनाहरू सञ्चालनमा रहेका छन् ।
पोखरा । गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्...
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय...
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...

